जनकपुरधाममा जगद्गुरु रामानन्दाचार्यको जन्मजयन्ती भव्य रूपमा मनाइँदै

जनकपुरधाम, २६ पुष । वैष्णव सम्प्रदायका महान् सन्त तथा जगद्गुरु श्री रामानन्दाचार्यको जन्मजयन्ती आज जनकपुरधाममा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ ।
श्री वैष्णव सङ्घ जनकपुरधामको आयोजनामा रामानन्द आश्रमलाई केन्द्र बनाएर दिनभरि कार्यक्रम सञ्चालन भइरहेका छन् ।
श्री वैष्णव सङ्घ जनकपुरधामका अध्यक्ष रामरोशन दास वैष्णवका अनुसार जन्मजयन्तीको अवसरमा आज बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलगान तथा धर्मसभा आयोजना गरिएको छ ।
उक्त धर्मसभामा विभिन्न स्थानबाट आएका साधुसन्त, धर्मगुरु तथा विद्वान् व्यक्तित्वहरूले जगद्गुरु रामानन्दाचार्यको जीवन, दर्शन र वैष्णव परम्परामा उनको योगदानबारे प्रवचन गरेका छन् ।
त्यसैगरी, दिउँसो २ बजेदेखि ३ बजेसम्म जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा भक्तजन, साधुसन्त र धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमअनुसार दिउँसो ३ बजेदेखि ५ बजेसम्म भक्तजनहरूका लागि प्रसाद वितरणको व्यवस्था गरिएको छ । जन्मजयन्तीको अवसरमा ठूलो सङ्ख्यामा भक्तजन सहभागी भएका छन् ।
यसैबीच, रामानन्दाचार्यको जन्मजयन्तीलाई केन्द्रमा राख्दै आजदेखि २८ गतेसम्म जनकपुरधामस्थित तुलसी स्मारकमा श्रीमद् भक्तमालाकथाको आयोजना गरिएको छ । प्रत्येक दिन दिउँसो ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने उक्त कथावाचन कार्यक्रममा भक्तमालामा वर्णित सन्त–महात्माहरूको जीवन, भक्ति मार्ग र वैष्णव दर्शनबारे चर्चा गरिनेछ ।
आयोजकका अनुसार कार्यक्रममार्फत जगद्गुरु रामानन्दाचार्यले प्रतिपादन गरेको समन्वय, भक्ति र सामाजिक समानताको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा स्थानीयसहित बाहिरी जिल्लाबाट आएका साधुसन्त, धर्मगुरु, विद्वान् व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने बताइएको छ ।
वैष्णव सम्प्रदायका प्रवर्तक मानिने रामानन्दाचार्यको जन्मजयन्ती जनकपुरधाममा प्रत्येक वर्ष श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको छ । यस वर्ष पनि धार्मिक आस्था, सांस्कृतिक पहिचान र आध्यात्मिक चेतनालाई सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम भव्य रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


