जनकपुरधाम, १४ कार्तिक । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरू भएको छ ।

कार्यशालाको उद्घाटन कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षता तथा इङ्ग्ल्यान्ड निवासी मधेश विषयका अनुसन्धानकर्ता माईकल हट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला र संस्कृतिसँग कसरी जोड्ने विषयमा छलफल गरिएको थियो ।

प्रमुख अतिथि माईकल हट्टले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवाजस्ता पर्वले सामाजिक सम्बन्ध सुदृढ बनाउने उल्लेख गर्दै यस परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावना औंल्याए । उनले स्थानीय कलाकारहरूका सीप र सिर्जनशीलतालाई विश्वस्तरमा प्रवद्र्धन गर्न अध्ययन र अभिलेखीकरण आवश्यक रहेको बताए ।

अध्यक्ष चौधरीले भने, ‘सामा–चकेवा हाम्रो मिथिलाञ्चलको सांस्कृतिक सम्पदा हो । यसले दिदीबहिनी र भाइबीचको प्रेम, आत्मीयता र सामाजिक एकताको सन्देश दिन्छ । यो परम्परा मात्र उत्सव नभइ हाम्रो पहिचानको जरा हो ।’ उनले मैथिली विकास कोषले स्थानीय कलाकार, युवापुस्ता र विद्यार्थीहरूलाई परम्परागत मूर्तिकला र मिथिलाकला सिक्न प्रेरित गर्दै आएको बताए ।

चौधरीले थपे, ‘साँस्कृतिक सम्पदाको संरक्षणका लागि स्थानीय समुदायको सहभागिता आवश्यक छ । अहिलेको पुस्ता प्रविधितर्फ आकर्षित हुँदैछ । तर, यदि हामीले परम्परागत कलालाई आधुनिक माध्यमबाट प्रस्तुत गर्न सक्यौं भने यो परम्परा झन जीवित र सशक्त बन्छ ।’

कार्यक्रमका अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरू मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यशालाको क्रममा सहभागीहरूले सामा–चकेवा पर्वसँग सम्बन्धित विभिन्न मूर्तिहरूको निर्माण अभ्याससमेत गरे ।

मैथिली विकास कोषका अनुसार आगामी दिनहरूमा पनि यस्ता कला–संस्कृति केन्द्रित कार्यशालाहरूलाई विद्यालय र समुदाय स्तरमा विस्तार गर्ने योजना रहेको छ ।

कार्यक्रममा कोषका सदस्य सचिव श्यामसुन्दर शशी, सदस्य नित्यानन्द मण्डल, रूबी पाठक, सुधा कर्ण लगायतको सहभागिता रहेको थियो ।