सप्तरीमा विपद् जोखिमप्रति प्रशासन सतर्क
सप्तरी, ११ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवातको सम्भावित प्रभावका कारण भारी वर्षा, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले कार्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न स्थानमा चक्रवात, मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुन सक्ने जनाएको छ ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराईका क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न प्रशासनले अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतोद्वारा कार्तिक ११ गते जारी सूचनामा अत्यावश्यक कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।
जिल्लाका साना तथा ठूला नदी र खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पनि प्रशासनले सचेत गराएको छ ।
त्यस्तै, बाढीको जोखिम देखिएका बेला खोला किनारमा माछा मार्ने, काठदाउरा सङ्कलन गर्ने लगायतका कार्य नगर्न आग्रह गरिएको छ ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप चनाखो रहन प्रशासनले अनुरोध गरेको छ ।
सम्भावित वर्षाले धानबालीमा समेत क्षति पुर्याउन सक्ने भएकाले मौसम पूर्ण रूपमा सफा नभएसम्म धान नकाट्न र काटिसकेको धानलाई समयमै सुरक्षित स्थानमा राख्न किसानलाई सुझाव दिइएको छ ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिनसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।
सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न समयमै सतर्कता र पूर्वतयारी अपनाउन प्रशासनले जोड दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





