धनुषामा रगतको अभाव, रक्त भण्डारमा २३ युनिट मात्रै
जनकपुरधाम, ११ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधाममा रगतको मौज्दात न्यून देखिएको छ ।
शाखाले बुधबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार हाल जम्मा २३ युनिट मात्रै रगत मौज्दात रहेको छ ।
रेडक्रसका अनुसार हाल ए पोजेटिभ (A+) समूहको १३ युनिट र ओ पोजेटिभ (O+) समूहको १० युनिट रगत उपलब्ध छ । बी पोजेटिभ (B+) समूहको रगत भने मौज्दात शून्य रहेको छ ।
अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको माग पूरा गर्न नियमित रक्तदान आवश्यक रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई मानवीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
उनका अनुसार रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले बिरामीको जीवन बचाउन रक्तदाताले उपलब्ध गराउने रगत नै महत्त्वपूर्ण आधार हो ।
उनले भने, ‘दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदानप्रति जनचेतना बढाउनु आवश्यक छ ।’
रक्त भण्डारमा कुनै समूहको रगत सकिँदा सम्बन्धित समूहका बिरामीले समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबै रक्तसमूहका रक्तदातालाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।
रेडक्रसले रक्तदान गर्न इच्छुक व्यक्तिलाई जनकपुरधामस्थित धनुषा जिल्ला शाखाको रक्तसञ्चार सेवामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





