जनताको सहभागिताबाट समृद्ध वडा बनाउने ठाकुरको प्रतिबद्धता
जनकपुरधाम, ११ कार्तिक । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय तथा नेपाली कांग्रेसका नेता दीपक कुमार ठाकुरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै वडाध्यक्ष पदका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
‘शिक्षित समाज, समृद्ध जनकपुरधाम’ भन्ने नारासहित अघि सारिएको उनको अभियानले गुणस्तरीय शिक्षा, शिक्षामा समान अवसर, सडक तथा नाली निर्माण, स्वास्थ्य, सरसफाइ र युवालाई रोजगारीसँग जोड्ने विषयलाई मुख्य एजेन्डा बनाएको छ ।
शिक्षा क्षेत्रसँग लामो समयदेखि आबद्ध ठाकुरले वडाको समग्र विकासका लागि शिक्षा र पूर्वाधारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनको प्रतिबद्धतामा वडाभित्र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने, सबै वर्गका बालबालिकालाई शिक्षामा समान अवसर उपलब्ध गराउने तथा युवाको सीप विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने विषय समेटिएका छन् ।
त्यसैगरी, सडक तथा नालीको व्यवस्थित निर्माण, स्वास्थ्य सेवामा सहज पहुँच, सरसफाइको प्रभावकारी व्यवस्थापन र सुरक्षित वातावरण निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
स्वच्छ, हरित र व्यवस्थित वडा निर्माणका लागि स्थानीय बासिन्दाको सहभागितामा विकासका गतिविधि सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।
ठाकुर विगत एक दशकदेखि वडाको सरसफाइ अभियानमा सक्रिय रहँदै आएका छन् ।
शिक्षा क्षेत्रमा समेत लामो समयदेखि क्रियाशील उनी एन–प्याब्सन (N-PABSON) जनकपुरधामका नगर अध्यक्षका रूपमा पनि कार्यरत रहेका छन् ।
शिक्षा र सामाजिक क्षेत्रमा प्राप्त अनुभवलाई वडाको विकासमा उपयोग गर्ने उनको योजना रहेको छ ।
उनले ‘शिक्षा, विकास र समृद्धि’लाई आफ्नो अभियानको मूल आधार बनाउँदै जनताको सहभागिता र सहकार्यबाट वडा नम्बर ८ लाई व्यवस्थित तथा समृद्ध बनाउने लक्ष्य अघि सारेका छन् ।
ठाकुरको प्रतिबद्धताअनुसार विकास निर्माणका कामलाई प्रभावकारी बनाउने, स्थानीय आवश्यकताका आधारमा योजना अघि बढाउने र वडावासीको साझा सहभागितामा विकासका गतिविधि सञ्चालन गर्ने विषय उनको प्राथमिकतामा रहनेछन् ।
‘जनताको साथ, समृद्ध जनकपुरधाम’ भन्ने सन्देशसहित अघि सारिएको आफ्नो अभियानले शिक्षा, सामाजिक सेवा र भौतिक पूर्वाधारको विकासलाई जोड दिएको ठाकुरले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





