जनकपुरधाम, ११ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न प्रदेशमा वर्षा तीव्र हुने सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कार्तिक १२ देखि १४ गतेसम्म मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबारदेखि देशका अधिकांश भूभागमा बादल लाग्ने र वर्षाको क्रम बढ्ने सम्भावना छ ।

शुक्रबार र शनिबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

विभागका अनुसार कार्तिक १२ गते बिहीबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । बिहीबार रातिदेखि वर्षाको प्रभाव थप विस्तार हुने अनुमान छ ।

कार्तिक १३ गते शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि वर्षाको जोखिम कायमै रहने अनुमान छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने र देशभर आंशिक बदली रहने पूर्वानुमान छ ।

कमला नदीको जलाधार क्षेत्रमा बाढीको जोखिम
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पनि बाढी, पहिरो तथा अन्य जलजन्य जोखिमबारे पूर्वानुमान सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार कार्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्नेछ ।

यसबाट नदीको जलसतह बढ्नुका साथै पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी र तराईका विभिन्न स्थानमा डुबानको जोखिम बढ्न सक्ने देखिएको छ।

बिहीबार र शुक्रबार नारायणी, कोशी, बागमती र कमला नदीका जलाधार क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने अनुमान गरिएको छ ।

शुक्रबार यी नदी तथा तिनका सहायक नदीमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भए पनि प्रारम्भिक आकलनअनुसार प्रमुख नदीहरूमा खतरा तह पार गर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ । यद्यपि, वास्तविक वर्षा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्नेछ ।

आकस्मिक बहावसम्बन्धी पूर्वानुमानअनुसार साना नदी तथा खोलामा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, खोला आसपासका बस्ती तथा जोखिमयुक्त सडक क्षेत्रमा विशेष सतर्कता आवश्यक देखिएको छ ।

किसान र यात्रुलाई सतर्क रहन आग्रह
सम्भावित वर्षालाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न सुझाव दिएको छ ।

लगातारको वर्षाले धानबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको हो ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, पहाडी सडकमा पहिरो जान सक्ने र तराईका केही क्षेत्रमा डुबानको समस्या उत्पन्न हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुझाव दिइएको छ ।

नदी तथा खोला तर्ने, नदी किनारमा जाने र जोखिमयुक्त सडक प्रयोग गर्ने कार्यबाट जोगिनुका साथै आधिकारिक मौसम सूचना र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

मौसमविद्हरूको पूर्वानुमानअनुसार कार्तिक १२ देखि १४ गतेसम्मको अवधि विशेष सतर्कता अपनाउनुपर्ने समय भएकाले सर्वसाधारण, किसान, यात्रु र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन आवश्यक देखिएको छ ।