जनकपुरधाम, ११ कार्तिक । धनुषाको सबैला नगरपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका–१३ किरतपुर निवासी करिब ४५ वर्षीया फुलो देवी ठाकुरलाई गाँजासहित नियन्त्रणमा लिइएको हो ।

ठाकुरले आफ्नै घरमा लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । सो क्रममा घरबाट २ किलो ७८० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजासहित नियन्त्रणमा लिइएकी ठाकुरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।