सप्तरी, १४ चैत । गर्मीको सुरुवातसँगै सप्तरी जिल्लामा आगलागीका घटनामा वृद्धि भएको छ । यस वर्षको पहिलो आगलागी सप्तकोसी नगरपालिका वडा नम्बर ५ स्थित गङ्गाजलीमा भएको छ । त्यहाँ एक गाई गोठमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार बिहान ३ बजे सोमप्रसाद आचार्यको गाई गोठमा बालेको घुरबाट आगो फैलिएको हो । जस्ता र काठले बनेको एकतले गाई गोठ र गोठमा रहेका भैंसीको पाडा र दुई वटा बाख्राले जलेर नष्ट भएका छन् । आगोले गोठसँगै रहेको घरमा पनि आंशिक क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डिएसपी जितेन्द्र बस्नेतले आगलागीबाट १५ लाख रुपैयाँको क्षति भएको जानकारी दिए । उनले भने, ‘गोठ र अन्य सामग्री जलेर नष्ट भएका छन् । घरमा पनि आंशिक क्षति पुगेको छ ।’

आगलागीका क्रममा सोमप्रसाद आचार्य आफैं पनि घाइते भएका छन् । उनलाई हात, खुट्टा र शरीरमा सामान्य चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

सप्तरी जिल्लामा आगलागीका घटनाहरू प्रत्येक वर्ष गर्मीको समयमा वृद्धि हुने गरेको छ ।