जनकपुरधाम, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माउन बाध्य भएको घटना संसद्मा उठेको छ ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगे पनि आफूसँग पर्याप्त पैसा नभएकै कारण भर्ना हुन नपाएको सांसदहरूले बताएका छन् । उनीसँग २ हजार ५ सय रुपैयाँ मात्रै रहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै विपन्न नागरिकले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गरे ।

त्यस्तै, रास्वपाकी सांसद अंकिता ठाकुरले पैसा अभावमा महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था राज्यका लागि अत्यन्तै कारुणिक र गम्भीर विषय भएको बताइन् ।

उनले नागरिकको ज्यान र स्वास्थ्यभन्दा पैसा महत्वपूर्ण हुने अवस्था आए अस्पताल सेवा नभई सौदाबाजीको थलो बन्ने टिप्पणी गरिन् ।

दुवै सांसदले घटनाबारे सरकारसँग जवाफ माग्दै विपन्न तथा असहाय नागरिकले सहज र निःशुल्क प्रसूति सेवा पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।