उद्योगमन्त्री यादवले दिइन् राजीनामा
जनकपुरधाम, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन् ।
बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावबारे उद्योगीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्री यादवको आलोचना भएको थियो ।
उनले ग्यास अभाव समाधानका लागि उद्योगीमाथि कडाइ गर्नुपर्ने र हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा उद्योग मात्रै पर्याप्त हुने धारणा राखेकी थिइन् ।
उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए ।
यादवले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।
उनले कर्मचारीले आफूलाई असहयोग गरेको र उद्योगीको इसारामा चल्ने गरेको आरोप लगाएकी थिइन् । उनी बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने अभिव्यक्ति समेत दिएकी थिइन् ।
यसैबीच, काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा ग्यासको अभाव चर्किएको छ । उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन् भने कतिपय ठाउँमा निर्धारित मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो छ ।
सडक अवरोधका कारण ग्यास आयात तथा ढुवानीमा समस्या देखिए पनि बजारमा सहज आपूर्ति हुन नसकेको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले सरकार र उद्योगीबीच थप विवाद सिर्जना गरेको थियो ।


