पर्सा, ८ चैत । पर्साको वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी प्रहरी र अन्य एक समूहबाट आक्रमणको शिकार बनेका छन् । चतुर्वेदीले प्रहरीसहितका केही व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

फागुन २९ गते राति वीरगञ्ज–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमको दौरान ६ देखि ७ जनाको एक समूहले वडाध्यक्ष चतुर्वेदीलाई आक्रमण गरेका थिए । उक्त घटनाको सीसीटीभी फुटेजमा आक्रमण गर्ने व्यक्तिहरूको दृश्य देखिएको छ । त्यसमा नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणाको संल्ग्नता रहेको चतुर्वेदीले आरोप लगाएका छन् ।

उनले घटनाको सम्बन्धमा गम्भीर गुनासो गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । तर, घटनापछि प्रहरीको तर्फबाट हालसम्म कुनै कारबाही अघि नबढेको भन्ने कुरा चतुर्वेदीको गुनासो छ ।

मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले भने घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन् । उनले कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै यस विषयमा प्रहरीले निष्पक्ष अनुसन्धान गर्ने विश्वास दिलाएका छन् ।

उक्त घटनामा आरोपित वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले भने चतुर्वेदीमाथि भएको आक्रमणको भिडियो तोडमोड गरेर गलत प्रचार गरिएको दाबी गरेका छन् । उनले आफ्नो सफाई दिने क्रममा घटनाबारे फैलाइँदै गरेको प्रचार र भिडियोको सत्यता माथि प्रश्न उठाएका छन् ।