जनकपुरधाम, ८ चैत । नेकपा एमालेका संसदीय दलका उप नेता र प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको स्वर्गद्वारीको शवदाह गर्दा उठ्ने धुवाँले स्थानीयबासीलाई स्वास्थ्य समस्या र महामारीको जोखिममा पारिरहेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै ठाकुरले जनकपुरधामका समाजसेवी पवन सिंघानियाद्वारा बनाइएका स्वर्गद्वारीको सञ्चालनले स्थानीय क्षेत्रका बासिन्दालाई समस्या निम्त्याइरहेको बताएका हुन् ।
ठाकुरका अनुसार शवको अन्त्येष्टिका क्रममा उठ्ने धुवाँले आसपासका क्षेत्रका जनताको जीवन र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

ठाकुरले भने, ‘स्वर्गद्वारीमा शवदाह गर्दा उठ्ने धुवाँले महामारीको जोखिम बढाउने खतरा छ । यसले जनकपुरधामका नागरिकहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।’ उनले थपे, ‘यस समस्या समाधान गर्नका लागि इलेक्ट्रिक शवदाह गृहको व्यवस्था गर्न आवश्यक छ । यस विषयमा सम्बद्ध मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

जनकपुरधाममा स्थापित स्वर्गद्वारीमा हालैदेखि धेरै शवको अन्त्येष्टि गरिन थालेको छ । यसका कारण यहाँका अधिकांश स्थानीय बासिन्दा धुवाँ र वायु प्रदूषणको शिकार भएका छन् । ठाकुरको भनाइ अनुसार यदि यस समस्याको समाधान तत्कालीन अवस्थामा गरिएन भने यसले जनकपुरधाममा स्वास्थ्य संकटलाई बढावा दिन सक्छ ।