जनकपुरधाम, ७ चैत । राजर्षि जनक विश्वविद्यालयको डीन कार्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले फागुन ८ गते जारी गरेको करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापनमा समावेशी नीतिको उल्लंघन भएको आरोप लगाउँदै विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् ।

उक्त विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग, अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण र समावेशीताको अधिकार सुनिश्चित नगरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । उनीहरूको भनाइ अनुसार नेपालको संविधानले समावेशीताको अधिकार सुनिश्चित गरेकोले विश्वविद्यालयले यस अधिकारबाट बञ्चित गर्न मिल्दैन ।

अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले विज्ञापनमा सुधार गरी समावेशीताको अधिकार लागू गर्ने र आरक्षणको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

उनीहरूका अनुसार विश्वविद्यालयले हालसम्म बारम्बार नियुक्त गरिएका शिक्षक र कर्मचारीहरूमा समावेशीतालाई वञ्चित गर्दै आएको छ । यसले समावेशी समाजको निर्माणमा अवरोध पुर्याइरहेको छ ।


सम्भावित समाधानको बारेमा चर्चा गर्दै उनीहरूले भने, ‘विज्ञापनमा एकरुपता हुनुपर्ने र दैनिक ज्यालादारी र करारमा दुई प्रकारको नियुक्ति हुनु पर्दैन ।’ उनीहरूले खुद्रे विज्ञापनमा रोक लगाउने र सेवा आयोगको पहल गर्नुपर्ने कुरा पनि उठाएका छन् ।

तालाबन्दीको विरोधमा विद्यार्थीहरूले आफ्ना मागहरूको पुर्तिको लागि संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।