पर्सा, ७ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वीरगञ्ज कारागारका चार जना कैदीबन्दीले जेलभित्रै बसेर परीक्षा दिएका छन् । विभिन्न मुद्दामा सजाय भोगिरहेका चार पुरुष कैदीले शिक्षा हासिल गर्नको लागि यो अवसर पाएका हुन् ।

वीरगञ्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालका अनुसार चार जना परीक्षार्थीमध्ये एक जना बाराबाट र तीन जना पर्साबाट परीक्षा फारम भरेका थिए । कारागारमा शिक्षा लिने यी कैदीहरूले भविष्यमा पुनः सामाजिक जीवनमा फर्किनका लागि यो परीक्षालाई महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन् ।

यस वर्ष पर्सा जिल्लाबाट कुल ११ हजार ४१३ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । तीमध्ये ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् । जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएका छन् । त्यहाँ २८ सामुदायिक विद्यालय र एउटा निजी विद्यालय परीक्षामा सामेल छन् ।