हंसपुर नगरपालिकामा माओवादीको धर्ना, विद्यालय परिसर खाली गराउन ३० बुँदे माग

जनकपुरधाम, ७ चैत । धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले तीन दिनदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् ।
उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त घर हटाउन माग गरेका हुन् ।

हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने कार्यपालिकाको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राखेका छन् । तर, मेयर यादवले उक्त निर्णय लागू नगर्ने भनेपछि उनीहरु अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता गरिए तालाबन्दी खोल्न तयार रहेको बताएका छन् । तर, मेयर यादवले तत्काल निर्णय लागू नगर्ने बताएपछि तनाव बढेको छ । उनीहरुले विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।

माओवादी नगर कमिटीले विभिन्न ३० बुँदे माग राख्दै मेयरलाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाको कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले मेयरले कार्यपालिकाको निर्णय लागू नगरेकाले बाध्य भएर धर्ना दिएको बताए । माओवादी नेता तथा कार्यकर्ताहरुको धर्नासँगै नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित बनेको छ ।

मेयर यादव र माओवादी कार्यकर्ताहरुबीच केही चरणको वार्ता भए पनि कुरा नमिल्दा धर्ना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


