जनकपुरधाम, ५ चैत । धनुषाको सबैला घटनासम्बन्धी सबै पक्षबीच सर्वपक्षीय सहमति भएको छ । घटनालाई शान्तिपूर्ण ढंगले समाधान गर्न विभिन्न निर्णयहरू गरिएका छन् ।

सबैला नगरपालिकाले विवादित चोकको नामाकरण गर्ने सम्बन्धमा पाँच बुँदे सहमति बनाएको छ । यसमा यादव चौकको नामकरण नगर्ने निर्णय समेत समावेश छ ।

सम्भावित टकरावको परिप्रेक्ष्यमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सबैला नगरपालिकाले आगामी दुई महिनाभित्र उक्त चोकको नामाकरण गर्ने निर्णय गरेको छ । यससँगै, नगरपालिकाले जिल्ला सुरक्षा समितिलाई आवश्यक पर्दा आमन्त्रितको रूपमा सहभागी गराउने पनि सहमति भएको छ ।

सर्वपक्षीय सहमति अनुसार घटनामा घाइते भएका व्यक्तिको सम्पूर्ण उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले निर्णय गरी गृह मन्त्रालयलाई सिफारिस गर्ने व्यवस्था मिलाइनेछ ।

विवादित चोकको नामाकरण नहुँदासम्म उक्त स्थानको अवस्था परिवर्तन नगर्ने निर्णय गरिएको छ । नामाकरण नभएसम्म सो स्थानको कुनै नयाँ नामाकरण वा अन्य कुनै परिवर्तन नगर्ने बारेमा सबै पक्षहरू बीच सहमति जुटाइएको छ ।

सर्वपक्षीय सहमति अनुसार घटनासम्बन्धी थप निर्णय जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा गठित समितिका प्रतिवेदनका आधारमा गरिनेछ ।

सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहारको आवश्यकता रहेको कुरा सर्वपक्षीय सहमति पत्रमा जोड दिइएको छ । चोकको नामाकरण नहुँदासम्मका लागि सबै पक्षले शान्तिपूर्ण र सम्मानजनक व्यवहार गर्ने सहमति जनाएका छन् ।

सहमतिपछि घटनासम्बन्धी विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने उद्देश्यका साथ सबै पक्षले आपसी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।