सफा र स्वस्थ वडाका लागि वडा सदस्य साहको पहल

जनकपुरधाम, ४ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ मा लामखुट्टेको सङ्क्रमण नियन्त्रण गर्न विशेष फगिङ अभियान सञ्चालन गरिएको छ।
वडा सदस्य अमित कुमार साहको नेतृत्वमा टोलटोलमा कीटनाशक औषधि छर्किँदै स्थानीय बासिन्दालाई लामखुट्टेको जोखिमबाट बचाउने प्रयास गरिएको हो ।
वडा कार्यालयको समन्वयमा कर्मचारीहरूको टोली मोटरसाइकलमा सवार हुँदै विभिन्न स्थानमा फगिङ गर्दैछ। यो अभियानका क्रममा प्रमुख सडक, गल्ली, बस्ती र लामखुट्टे प्रजनन हुने स्थानहरूलाई प्राथमिकता दिइएको छ।
अभियानबारे जानकारी दिँदै वडा सदस्य साहले भने, “हाम्रो लक्ष्य वडा नं. २ लाई सफा, स्वस्थ र रोगमुक्त बनाउनु हो। लामखुट्टेको नियन्त्रण गर्न फगिङ एक महत्वपूर्ण उपाय भएकाले हामी निरन्तर काम गरिरहेका छौं।”
स्थानीय बासिन्दाहरूले यो अभियानलाई स्वागत गर्दै वडा कार्यालयलाई धन्यवाद दिएका छन्। लामखुट्टेबाट सर्ने डेंगु, मलेरिया जस्ता रोगको रोकथाम गर्न यस्ता पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
वडा कार्यालयले यो अभियानलाई निरन्तरता दिने बताएको छ। मंगलबार अन्य टोल तथा बस्तीहरूमा पनि फगिङ गरिनेछ।
वडा सदस्य साहका अनुसार, “फगिङ अभियानसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ । यसले नागरिकलाई लामखुट्टेको रोकथामका उपायहरू अपनाउन प्रोत्साहित गर्नेछ।”
यस अभियानले वडा नं. २ का बासिन्दालाई केही हदसम्म राहत दिने विश्वास गरिएको छ। लामखुट्टे नियन्त्रणका लागि नियमित रूपमा सरसफाइ, पानी जम्न नदिने उपाय तथा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको विज्ञहरू बताउँछन्।
वडा कार्यालयले पनि नागरिकहरूलाई सफाइमा ध्यान दिन आग्रह गरेको छ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


