प्रहरीको गोली लागेका सन्तोषलाई थप उपचारका लागि काठमाडौँ लगियो

जनकपुरधाम, ४ चैत । धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
गोली लागेर घाइते भएका व्यक्ति शहीदनगर नगरपालिका–१ कुम्भकर्णका २० वर्षीय सन्तोष यादव हुन्। उनलाई प्रारम्भिक उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि सोमबार उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत राजधानीको ट्रमा सेन्टर लगिएको हो।
धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित एक चोकको नाम ‘यादव चोक’ राख्ने विषयलाई लिएर आइतबारदेखि दुई पक्षबीच विवाद सुरु भएको थियो। स्थानीय एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्ने प्रयास गरेको थियो। यही विषयमा दुवै पक्षबीच विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने अवस्था सिर्जना भएको थियो।
स्थानीयस्तरमा तनाव बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। प्रहरीले दुबै पक्षलाई सम्झाउने प्रयास गरे पनि झडप चर्कँदै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। स्थिति गम्भीर बन्दै गएपछि प्रहरीले गोली चलाउँदा २० वर्षीय यादव गम्भीर घाइते भएका थिए।
प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रण गर्न केही राउन्ड हवाई फायर गरिएको थियो। तर, स्थिति झन् तनावपूर्ण भएपछि प्रहरी बाध्य भएर गोली चलाउन पुगेको दाबी गरिएको छ।
प्रहरीको गोली लागेर युवक घाइते भएपछि स्थानीयवासी आक्रोशित भएका छन्। घटनापछि त्यस क्षेत्रमै तनाव सिर्जना भएको छ भने स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीय बासिन्दाले गोली प्रहार गर्ने प्रहरीमाथि कारबाही गर्नुपर्ने आवाज उठाइरहेका छन्।
यसैबीच, प्रशासनले सुरक्षाको स्थिति थप कडा बनाएको छ। स्थानीय प्रशासनले क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन थप सुरक्षा सतर्कता अपनाएको जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


