जनकपुरधाम, ४ चैत । धनुषाको सबैला नगरपालिका वडा नम्बर–९ स्थित भठिहनमा यादवचोक नामक बोर्ड राखिएको विषयमा उत्पन्न भएको विवादलाई शान्ति र सद्भाव कायम राख्नका लागि सबैला नगरपालिकाका मेयर कारीराम यादवले चोकको नामाकरण सर्वमान्य बनाउनका लागि प्रतिवद्धता जनाएका छन् ।

विवादको शुरुवात कोल्हुवामोरका केही व्यक्तिहरुले भठिहनमा यादवचोकको बोर्ड राखेपछि भएको थियो । उक्त बोर्डमा जातीय नाम लेखिएकोले दुई समुदायबीच गम्भीर विवाद उत्पन्न भएको थियो ।

विवादका कारण स्थानीय क्षेत्र तनावग्रस्त बनेपछि सोमबार प्रहरीले गोली चलाउनु पर्यो । यस घटनापछि मेयर यादवले चोकको नामाकरणलाई सामाजिक सदभाव कायम गर्दै सर्वमान्य बनाउने निर्णय गरे ।

सोमबार दिउँसो मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै चोकको नामाकरण सबैलाई स्वीकार्य हुनेगरी गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी सबै समुदायको सम्मान गर्दै र सामाजिक सद्भाव कायम राख्नेगरी चोकको नाम परिवर्तन गर्नेछौं । यसका लागि आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वपक्षीय बैठकमा यो निर्णय गरिएको हो ।’

सामाजिक शान्ति र सद्भावको महत्वलाई मध्यनजर गर्दै मेयर यादवले यस विवादको समाधानमा तटस्थ रहन र सबैको भावना सम्मान गर्दै निर्णय लिएको बताए । उनका अनुसार, ‘हामी सबैको साझा प्रयासले सबैलाई मन पर्ने नामाकरण प्रक्रिया अघि बढाइनेछ । यसले कुनै पनि जातीय वा सामुदायिक भेदभाव उत्पन्न नगरी समाजमा एकता र सद्भावको वातावरण सिर्जना गर्नेछ ।’

घटनापछि भठिहनमा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको र अहिले थप सुरक्षा व्यवस्था कडा गरिएको छ । स्थानीय प्रशासन र सुरक्षा बलले स्थिति नियन्त्रणमा राख्नका लागि सक्रिय रुपमा काम गरिरहेको जनाइएको छ ।