काठमाडौँ, ३ चैत । ८ दलीय मधेसी मोर्चाले आफ्नो नयाँ साझा एजेन्डा तय गरेको छ । एजेन्डामा संविधान संशोधन र निर्वाचन प्रणाली सुधारका मुद्दाहरू उठाइएका छन् । सरकारका विभिन्न अध्यादेशहरूमा मतभिन्नता देखिएपछि मोर्चा पुनः सक्रिय हुने तयारीमा छ ।

यसअघि होली पर्व र अन्य कारणले मोर्चा केही समय निष्क्रिय देखिएको थियो । तर, अब कार्यदलले साझा एजेन्डा र आचारसंहिता तयार गरेर अगाडि बढेको छ ।

मधेसी मोर्चाले साझा एजेन्डा तयार गर्नका लागि कार्यदल गठन गरेको थियो । यसमा जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादव, जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमन र राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेता केशव झा रहेका थिए । यस कार्यदलले मोर्चाका साझा मुद्दाहरू र आचारसंहिता तयार गरेर अब ती प्रस्तावहरू मोर्चाका शीर्ष नेताहरूसम्म पु¥याउने तयारी गरेको छ ।

मधेसी मोर्चाको मुख्य एजेन्डा भनेको संविधान संशोधन हो । मधेसी, आदिवासी, जनजाति, दलित र पिछडिएका समुदायको हक, अधिकार र पहिचान सुनिश्चित गर्ने कुरा राखिएको छ । कार्यदलका अनुसार संविधान संशोधनको प्रक्रियामा प्राप्त उपलब्धिहरू गुम्ने गरी संशोधन हुनु हुँदैन र यसका लागि मोर्चाले सचेत रहनुपर्ने छ ।

साथै, मोर्चाले समानुपातिक निर्वाचन प्रणालीको सुधार र स्थानीय चुनावको गैरदलीय प्रणाली को पक्षमा पनि उभिएको छ । यसले आगामी चुनावमा समावेशी प्रतिनिधित्व र समान अवसरको सुनिश्चितता गर्नका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ ।

मधेसी मोर्चाले सरकारका प्रमुख दल काँग्रेस र एमालेको दुई दलीय व्यवस्था लागू गर्ने योजनालाई गम्भीर चुनौतीको रूपमा लिएको छ । यी दलहरूले संविधानमा संशोधन गरेर समानुपातिक प्रणाली हटाउने र थ्रेसहोल्ड बढाउने प्रस्ताव गरेका छन् । मोर्चाका अनुसार यो समावेशी प्रणालीको विरुद्ध हो । यस विरोधमा मोर्चाले साझा संघर्ष गर्ने निर्णय गरेको छ ।

मधेसी मोर्चाले राजनीतिक दल दर्तासम्बन्धी कानुन को संशोधनका लागि पनि ध्यानाकर्षण गरेको छ । मोर्चा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिएको छ । प्रदेश जनसंख्याका आधारमा राष्ट्रियसभा गठन गर्ने प्रस्ताव पनि राखेको छ । साथै, स्थानीय तहको चुनाव गैरदलीय बनाउनुपर्ने कुरा पनि मोर्चाले जोड दिएको छ ।

मधेसी मोर्चा विभिन्न दलहरूको साझा संगठन हो । यसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई लोकतान्त्रिक समाजवादी पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।