जनकपुरधाम, १ चैत । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष आयोजना गर्दै आएको दुई दिवसीय कार्यक्रमको दोस्रो दिन आज महामूर्ख सम्मेलनको आयोजना हुन लागेको छ ।

यसवर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने चर्चा छ । रंग अबिरको पर्व होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्षको महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गर्न लागिएको हो ।

मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । मिनापले पटमुर्ख, सोटाचन्द, वैशाखनन्दन, गन्धपसारैन, खबसुरता, लोढाशंकर, बज्रसोटा, मनटुटिया, डपोरशंख, टुनमुसरी, हराशंख, बज्रकिट लगायतको हास्यास्पद उपाधीहरु प्रदान गर्दै आइरहेको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । जनकपुरधाममा मिनापले प्रत्येक वर्ष मनाउने होरी महोत्सव र महामूर्ख सम्मेलन यहाँको प्रमुख आकर्षणमध्येको एक हो ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप भइरहेकोले त्यसको संरक्षण गर्न मिनापदे होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको बताए ।

उनले भने, ‘मिथिलाञ्चलमा जोगिरा सुनिन लगभग छोडिएको र भोजपुरी गीतको बिगबिगी बढिरहेको समयमा मिनापले पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्दै आइरहेको छ ।’

मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो ।

त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडिी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंह, ०७१ मा नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।

०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो भने ०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । त्यस्तै, २०८० सालमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।