मिथिला मध्यमा परिक्रमा सम्पन्न, खुला सीमाले भक्तजनलाई सहजता

जनकपुरधाम, १ चैत । १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरेसँगै सम्पन्न भएको छ । लाखौं श्रद्धालु, साधु–सन्त तथा भक्तजन सहभागी यस धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहजता प्रदान गरेको देखिएको छ ।
नेपाल भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक नेपाल धनुषाले परिक्रमा अवधिभर नेपालमा पर्ने बासाहरुमा दिपक यादव संयोजक, रुबि झा सह–संयोजक, कृष्ण कुमार साह र धनेश्वर ठाकुर सदस्य रहने गरि समिति बनाएर हेल्प डेस्क सञ्चालन गर्दै यात्रुहरूको सेवा गरेका थिए । सो शिविरबाट प्राथमिक उपचार, पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।
जिल्ला समन्वय समितिको गेटसंगै आज पञ्चकोशी परिक्रमामा पनि हेल्प डेस्क सञ्चालनमा थियो । आज भक्तजनहरूले जनकपुरधाममा ‘अन्तरगृह परिक्रमा’ अर्थात् ‘पञ्चकोशी परिक्रमा’ गरेका छन् । यो परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू समेत सामेल हुने गर्छन् । धार्मिक मान्यताअनुसार मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालुहरूले १३३ किलोमिटर लामो यात्रा तय गरेका थिए । यो यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको करुणा, विसौलमार्फत जनकपुरधाम फर्कने मार्ग समेटिएको थियो ।
बुद्धिजीवी एवम् पूर्व सरकारी अधिकारी नन्दकुमार झाका अनुसार परिक्रमामा नेपाल–भारत खुला सीमाको भूमिका अपरिहार्य रहेको छ । नेपाल–भारत खुला सीमाले भक्तजनहरूको आवतजावतलाई सहज बनाएको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको सितामढी, मधुबनी, दरभंगा, झंझारपुर, सुपौल लगायतका स्थानहरूबाट आएका श्रद्धालुहरूले सीमावर्ती क्षेत्रको धार्मिक सहअस्तित्वको लाभ उठाएका थिए ।
नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झाका अनुसार परिक्रमा मार्गमा रहेका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक सम्बन्ध अझै प्रगाढ भएको छ । भक्तजनहरूको सहजता सुनिश्चित गर्न हेल्प डेस्क स्थापना गरिएको थियो । सो हेल्प डेस्क आजदेखि समापन गरिएको छ ।
शुक्रबार परिक्रमा सम्पन्न भएसँगै मिथिलाञ्चलभरि होली पर्वको रौनक बढेको छ । शनिबार फागुपूर्णिमाका दिन मिथिला क्षेत्रमा विशेष रूपमा होली पर्व उल्लासका साथ मनाइनेछ । परिक्रमा सम्पन्न गरेका श्रद्धालुहरूले आस्थाको साथ होली पर्व मनाउने तयारी गरिरहेका छन् ।