संसदीय मामिला पत्रकार समाजको होली मिलन समारोह सम्पन्न

जनकपुरधाम, २९ फागुन । संसदीय मामिला पत्रकार समाज जनकपुरधामको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ ।
समारोहमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले होलीलाई केवल संस्कृति पर्व मात्र नभई भाइचारा र एकता बढाउने पर्वका रूपमा प्रस्तुत गर्दै यस अवसरमा बुरा मान्ने होइन, बुरा मान्ने कार्य गर्नु हुँदैन भने ।
समाजका अध्यक्ष वीरेन्द्र रमणको अध्यक्षतामा भएको सो समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, प्रदेश सचिव शैलेन्द्र महतो, जिल्ला अध्यक्ष पुरन गुप्ता, निवर्तमान अध्यक्ष मनिका झा, प्रेस चौतारीका अध्यक्ष नविन मिश्र, मधेशी पत्रकार समाजका अध्यक्ष सुभाष कर्णलगायतका प्रमुख व्यक्तित्वहरूले बोलेका थिए ।
सभामुख मण्डलले होलीको महत्व र यसको सांस्कृतिक पक्षलाई जोड दिँदै यो पर्वले समाजमा आपसी भाइचारा र प्रेमको भावना फैलाउने काम गर्ने बताए । उनले यो पर्वका अवसरमा द्वन्द्व र भेदभावलाई भूल्न र सबैलाई एक साथ मिलेर मिष्ठान्न वितरण गर्ने परम्परा कायम राख्न आह्वान गरे ।
समारोहमा उपस्थित अन्य वक्ताहरूले पनि होलीको अवसरमा पत्रकारिता जगतका विभिन्न चुनौतीहरूको चर्चा गर्दै समाजमा शान्ति र सहिष्णुता फैलाउने कार्यमा पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने कुरा उठाएका थिए ।