जनकपुरधाम, २९ फागुन । जनकपुरधामको वडा नम्बर–८ स्थित यातायात व्यवस्था कार्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ ।

ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टि अवस्थित यो भवनको शिलान्यास मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र कार्यालयका प्रमुख धनंजय कुमार सिंहले हिन्दू विधिअनुसार गरेका हुन् ।

मुख्यमन्त्री सिंहले यातायात कार्यालय जस्तो व्यस्त सेवा प्रदान गर्ने निकायको आफ्नै भवन नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नयाँ भवनको निर्माणले सेवा सुधारमा मद्दत पुर्याउने बताए ।

उनले यातायात कार्यालयमा भइरहेका गलत गतिविधिहरूलाई अन्त्य गरी अब आफ्नै भवनबाट जनताप्रति सेवा प्रदान गर्न कार्यालयलाई आग्रह गरे । साथै, उनले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने र एसईईलाई मर्यादित बनाउन केन्द्रित भएको जानकारी दिए ।

श्रम तथा यातायात मन्त्री रायले भवनमा अटोमेटिक ट्रयाल सेन्टरसहितको आधुनिक सेवा उपलब्ध हुने जानकारी गराए । उनले नयाँ भवन बनेपछि यातायात क्षेत्रमा रहेका बिचौलियाहरूको गतिविधि नियन्त्रण गर्ने र जनतालाई सरल र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । रायका अनुसार साउन महिनादेखि अटोमेटिक ट्रयाल सेन्टरसहितको सेवा सञ्चालनमा आउने छ ।

नयाँ भवनको निर्माणका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक विघा जग्गा दान गरेका छन् । यो जग्गामा आधुनिक ट्रयाल सेन्टरसहितको सुविधायुक्त भवन निर्माण गरिनेछ ।

शिलान्यास समारोहमा जनकपुरधाम वडा नम्बर–८ का वडाध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख धनंजय कुमार सिंह लगायतका व्यक्तित्वहरूले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।