मटिहानीमा पाँच सैयाको अत्याधुनिक प्रसूति गृह निर्माण सम्पन्न

महोत्तरी, २९ फागुन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर–६ मा पाँच सैयाको अत्याधुनिक प्रसूति गृह निर्माण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस प्रसूति गृहले आम नागरिकलाई सहज र आधुनिक मातृत्व सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिनेछ ।
इन्जिनियर बिमलेश साहका अनुसार नव–निर्मित यस प्रसूति गृहमा अपरेशन कोठा, लक्जरी कोठा, जेनेरल बेड कोठा, स्टाफ कोठा, फार्मेसी लगायतका सुविधा सम्पन्न कोठाहरू समावेश छन् ।
अत्याधुनिक उपकरण र सुविधासहितको यो प्रसूति गृहले मातृत्व सेवाको गुणस्तरमा वृद्धि गर्दै स्वास्थ्य सुविधामा सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ ।
उक्त प्रसूति गृहको भवनमा आज धार्मिक विधिअनुसार नगर प्रमुख हरि प्रसाद मण्डलले पूजा सम्पन्न गरे । प्रमुख मण्डलले प्रसूति गृह सञ्चालनमा आएसँगै आम नागरिकलाई सुरक्षित मातृत्व सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा वडा नम्बर–६ का वडाध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति सदस्य राम लखन पंजियार, कार्यपालिका सदस्य सुनेकेशी चौधरी, वडा सचिव बिकेश झा, वडा सदस्यहरू रामसेवक साह, शंकर मण्डल, मोख्तार अंसारी लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
यो प्रसूति गृहले मातृ तथा शिशु मृत्युदर घटाउन, विशेष गरी ग्रामीण क्षेत्रमा मातृत्व सेवाको पहुँच सुधार्न मद्दत पुर्याउने विश्वास गरिएको छ । स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो पहललाई सकारात्मक रूपमा लिँदै प्रसूति गृहले भविष्यमा समग्र नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


