काठमाडौँ, २९ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डका अनुसार आगामी ७ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रहरूमा पुगीसकेका छन् भने केही स्थानमा पुर्याउने क्रम जारी रहेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षाको सम्पूर्ण तयारी सकिएको जानकारी दिएका छन् ।

‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रहरूमा पुगिसकेको छ । साथै, विभिन्न जिल्लाहरूमा केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न भएको छ,’ पौडेलले बताए ।

यस वर्षको एसईई परीक्षामा ५ लाख ८ हजार ३९० विद्यार्थीहरू सहभागी हुनेछन् । यसअघि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेको भए पनि केही विद्यार्थी परीक्षा दिन नआउने अनुमान गरिएको छ ।

देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिने छ । प्रत्येक केन्द्रमा प्रश्नपत्र सुरक्षित राख्न र परीक्षाको विश्वसनीयता कायम गर्न सुरक्षाको जिम्मा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूले लिनेछन् । यसका साथै परीक्षा केन्द्रहरूमा अनुगमनका लागि विशेष टोली खटाइने व्यवस्था गरिएको छ ।

एसईई परीक्षाले विद्यार्थीहरूको शैक्षिक भविष्यमा ठूलो प्रभाव पार्ने भएकाले बोर्डले परीक्षालाई विश्वसनीय र निष्पक्ष बनाउन विभिन्न चरणहरूमा सुरक्षा योजना लागू गरेको छ ।

सुरक्षासँगै परीक्षा व्यवस्थापनका अन्य पक्षहरूमा पनि विशेष ध्यान दिइएको छ । केन्द्राध्यक्षहरूको अभिमुखीकरण र परीक्षा सञ्चालनका लागि सबै आवश्यक तालिमहरू सम्पन्न भएका छन् । परीक्षा अवधिमा नियमहरूको उल्लङ्घन भएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

परीक्षा नियन्त्रक पौडेलले सम्पूर्ण विद्यार्थीलाई समयमै परीक्षा केन्द्रमा पुग्न र नियमको पालना गर्न आग्रह गरेका छन् ।

‘विद्यार्थीहरूलाई हामीले परीक्षा नियमको पालना गर्न र समयमै परीक्षा केन्द्रमा उपस्थित हुन सुझाव दिएका छौँ । यो तपाईँहरूको भविष्यको लागि महत्वपूर्ण छ । त्यसैले पूर्ण तयारीका साथ सहभागिता जनाउनुस्,’ उनले भने ।

एसईई परीक्षा नेपालभरका शैक्षिक प्रतिष्ठानहरूमा एकैसाथ सञ्चालन गरिने भएकाले परीक्षा केन्द्रहरूमा सुरक्षा, व्यवस्थापन र अन्य सम्पूर्ण तयारीहरूलाई उच्च प्राथमिकतामा राखिएको छ ।