जनकपुरधाम, २९ फागुन । होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएको छ । धनुषा प्रहरीले पर्वको समयमा सम्भावित घटनालाई रोक्नका लागि व्यापक सुरक्षा तयारी गरेको हो ।

प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप टोलीको सहयोगमा ५ सय प्रहरी परिचालन गरिसकिएको छ । यो सुरक्षा योजना आजैदेखि लागू गरिएको हो ।

एसपी तिवारीले होलीको हर्षोल्लासलाई रोक्ने उद्देश्य नभई सम्भावित घटनाहरूबाट सर्वसाधारणलाई जोगाउन यो योजना बनाइएको स्पष्ट पारे ।

‘हामीले होलीलाई हर्षोल्लासपूर्वक मनाउने कुरालाई रोक्न खोजेका छैनौं, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि सुरक्षा योजना बनाएका हौं,’ उनले भने ।

धनुषा जिल्लामा प्रमुख स्थानहरूमा विशेष निगरानी राख्दै प्रहरी परिचालन गरिएको छ । होली पर्वका बेला सर्वसाधारणको भीड हुने ठाउँहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थानहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यसमा प्रहरी नायव उपरिक्षक बरुण बहादुर सिंहको कमाण्डमा टोली परिचालन गरिएको छ भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमाण्ड पोस्ट राखिएको छ ।

नगरप्रहरीसँग मिलेर माँस मदिरा पसलहरूमा निरन्तर निगरानीका कामहरू पनि जारी रहेको जानकारी प्रहरीले दिएको छ ।

होली पर्वको समयमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नको लागि प्रहरीको व्यापक तयारी रहेको छ । परिक्रमा हुने स्थलहरू र होली खेलिने स्थानहरूमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा योजना बनाइएको हो । स्थानीय निकायसँग समन्वय गर्दै शान्तिपूर्ण र सुरक्षित होली पर्व मनाउन प्रहरी तैनाथ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सबैलाई होली पर्वको शुभकामना दिँदै नियमको पालना गर्न र सुरक्षित रूपमा होली मनाउन आह्वान गरेको छ ।