जनकपुरधाम, २९ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले होली पर्वका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिबहादुर वलीको नेतृत्वमा जिल्लामा होली पर्वलाई सभ्य, भव्य र सुरक्षित बनाउन विभिन्न उपायहरू लागू गरिँदैछन् ।

ट्राफिक नियमको पालना नगर्ने सवारीसाधनलाई कडा कारबाही गर्ने चेतावनी दिँदै वलीले होलीका दिन कारवाहीमा परेका कुनैपनि सवारी साधन भोलिपल्ट मात्र छाडिने जानकारी दिए ।

प्रहरी निरिक्षक वलीले मृत्यु, दुःख र सुख कसैलाई सोधेर नआउने बताएर सचेतनाको सन्देश दिए । ‘गाडी अलिकति सभ्य भएर चलाउँदा ज्यान जोगिन्छ कि?’ उनले थपे । वलीले पर्वको समयमा सडक अनुशासन र ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेका छन् । होलीलाई सभ्य र अनुशासनपूर्वक मनाउन उनले विशेष जोड दिए ।

धनुषा जिल्लामा होली पर्वका दिन ६० जना ट्राफिक प्रहरीले प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । जिल्लाका १७ स्थानमा चेकिङ्ग गरिनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन (मापसे) जाँच गरिनेछ ।

प्रहरी निरिक्षक वलीले मोटरसाइकलमा तीन जना नबस्न र हेलमेट लगाएर मात्र मोटरसाइकल चलाउन कडा निर्देशन दिएका छन् ।

चेकिङ्ग हुने प्रमुख स्थानहरूमा जलेश्वर–जनकपुर सडक खण्ड, जटही–जनकपुर सडक खण्ड, कपिलेश्वर, पुलचोक, बेंगा शिवपुर, मुजेलिया, महेन्द्रनगर, पोर्ताहा र वीरेन्द्र बजार लगायतका क्षेत्र समावेश गरिएको छ ।

वलीले जनताको सुरक्षालाई मध्यनजर गर्दै सबै सवारी चालकलाई नियमको पालना गर्न र होलीलाई सुरक्षित र अनुशासित रुपमा मनाउन आग्रह गरेका छन् ।