सिरहाको एक होटलबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा, २८ फागुन । सिरहाको गोलबजार नगरपालिका–४ स्थित हाइवे होटलमा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शंका लागेर गरेको खानतलाशीमा ठूलो परिमाणमा खैरो हिरोइन फेला पारेको हो ।
सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार होटल सञ्चालक र एक अन्य व्यक्तिको नाममा लागूऔषध कारोबार भइरहेको शंका थियो । यस आधारमा प्रहरी टोलीले गोलबजारस्थित हाइवे होटलमा छापा मारेको थियो ।
छापा लगाउँदा होटलको बेसिनमा लुकाइएको १७ वटा कालो प्लास्टिकको पोका फेला परेको डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रारम्भिक जाँचमा उक्त प्लास्टिकका पोका भित्र खैरो हिरोइन जस्तो देखिने पदार्थ थियो । त्यसको तौल १.७३० किलोग्राम रहेको प्रहरीको भनाइ छ ।
यसैगरी, सोही होटल बाहिर शंका लागेर चेकजाँच गर्दा गोलबजार नगरपालिका–७ चोहर्वाका १८ वर्षीय युवक राजन जयसवालको साथबाट १५० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ फेला परेको डीएसपी पासवानले जनाए ।
प्रहरीले दुबै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको र उनीहरूको अनुसन्धान जारी रहेको बताएको छ ।
सिरहा प्रहरीले यस्तो आपराधिक गतिविधिको बिरोधमा कडा कदम चालिने र यसलाई नियन्त्रण गर्न थप निगरानी र अनुसन्धान गर्ने योजना रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


