जनकपुरधाम, २८ फागुन । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी अहिले अधिकांश समय जनकपुरधाम–८ स्थित ज्ञानकूप विद्यालयको पछाडि निर्माणाधीन कोषको भवनको व्यवस्थापनमा व्यस्त छन् । उनले यस परियोजनालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।

मैथिली भाषा, संस्कृति र इतिहासको संरक्षण र प्रवर्द्धनको उद्देश्यले साढे ६ करोड रुपैयाँको लागतमा निर्माण भएको यो चारतले भव्य भवन अहिले टाढैबाट हेर्दा पनि आकर्षक र भव्य देखिन्छ । भवनको बाहिरी भागमा मिथिला चित्रकला र रंगीन डिजाइनहरूले यसलाई विशिष्ट रूप दिन सफल भएको छ ।

चौधरीले यो भवन निर्माणको लागि सम्पूर्ण सहयोग मधेश प्रदेश सरकारबाट प्राप्त भएको जानकारी दिए । उनका अनुसार, ‘मैथिली भाषाको विकासका लागि एउटा समर्पित कार्यालय बनाउनुपर्छ भन्ने सोचका साथ हामीले यसको निर्माण प्रक्रिया अघि बढाएका थियौं । गुठी संस्थान जनकपुर कार्यालयसँग समन्वय गर्दै हामीले जमीन लिजमा लिएर भवन निर्माण गर्न थालेका थियौं ।’

उनले यस योजनामा सहयोग गर्ने मधेश प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई पनि धन्यवाद दिएका छन् । सोनलले पहिलो पल्टमै ३० लाख रुपैयाँ बजेट छुट्याएका थिए । पछि, नेपाली कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेपछि कोषको लागि ७ करोड रुपैयाँको बजेट विनियोजन भएको थियो ।

यस भवनले मिथिला चित्रकला, हस्तकला र मूर्तिकलालाई विशेष रूपमा प्रवद्र्धन गर्ने योजना ल्याएको छ । कोषका सदस्यसचिव पत्रकार श्यामसुन्दर शशिका अनुसार, ‘यहाँ प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरिनेछन् जसले मिथिला क्षेत्रका कला र हस्तकला उत्पादकलाई उत्पादन र बजार उपलब्धता प्रदान गर्नेछ । यसका माध्यमबाट मिथिला संस्कृतिका संरक्षण र विकासमा टेवा पुग्नेछ ।’

शशि थप्छन्, ‘जनकपुरधाममा पर्यटकहरूलाई उपहारको रूपमा मिथिला चित्रकला वा जानकी मन्दिरको तस्बिर दिने परम्परा छ । त्यो महँगो पर्न जान्छ । त्यसैले हामी माता सीता र जनकका प्रतिमाहरूलाई उपहारको रूपमा प्रस्तुत गर्ने योजना बनाइरहेका छौं ।’

भवनमा विशेष कक्षहरू समावेश गरिएका छन् । मिथिलाका विभूतिहरूको नाम राखिएका छन् । यी कक्षहरूमा मैथिली भवन, विद्यापति कक्ष, जानकी कक्ष, डा. धीरेन्द्र कक्ष, सलहेस कक्ष, राजर्षि जनक सभाकक्ष, शास्त्री कक्ष र अन्य १५ वटा कक्षहरू रहेका छन् । यस भवनमा ४०० जनासम्म एकै पटक बस्न मिल्ने सुविधा भएका राजर्षि जनक बैठक कक्ष र संग्रहालय, प्रशिक्षण केन्द्र, कला ग्यालरी लगायतका विशेष स्थानहरू तयार गरिएको छ ।

अझै, पारम्परिक मिथिला सामग्रीहरू जस्तै काठको सन्दुक, धान कुट्ने ढेकी, उखर समाठ, माटोको चुल्हो लगायतका वस्तुहरूलाई अवलोकनका लागि राखिएको छ । यसले स्थानीय सांस्कृतिक धरोहरलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुर्याउने चौधरीले बताए ।

चौधरी र शशिका अनुसार यस भवनमार्फत मिथिलाञ्चलका सयौं नागरिकलाई तालिम र रोजगार अवसर प्रदान गरिनेछ । आगामी दिनहरूमा यस परियोजनाले मैथिली संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।