जनकपुरधाम, २८ फागुन । जनकपुरधाममा नेपाल विद्युत प्राधिकरणले अत्यन्तै अव्यवस्थित विद्युत सेवा प्रदान गरिरहेको छ ।

बुधबार एकै दिनमा एक सय पटकभन्दा बढी बत्ति कटेको छ । यसले स्थानीय जनतालाई निकै कठिनाइमा पारिरहेको देखिएको छ ।

एकदेखि दुई मिनेटको अन्तरालमा निरन्तर बत्ति कट्ने समस्या उत्पन्न भएको हो । यस अव्यवस्थित सेवा सम्बन्धी गुनासो उठाउँदा जनकपुरधामका नागरिकहरूले नेपाल विद्युत प्राधिकरणको कार्यालयमा गुनासो गर्नका लागि ०४१–५९०८३४ नम्बरमा बारम्बार फोन गरे पनि फोन उठाउने कुनै प्रयास गरिएको छैन ।

स्थानीय बासिन्दाहरूले बत्ति बारम्बार जानाले व्यापार, अध्ययन र सामान्य जीवनका काममा ठूलो असर परेको बताएका छन् । कयौं उपभोक्ताले बत्ति कट्ने समस्याबाट बारम्बार समस्या भइरहेको र समस्या समाधानको कुनै ढाँचा नदेखिएको बताए ।

प्राधिकरणको लापरवाही र उदासीनताका कारण स्थानीयलाई असुविधा भइरहेको छ । तर, समस्या समाधानका लागि कुनै ठोस कदम हालसम्म चालिएको छैन ।

यस्तो समस्याले जनकपुरधामका नागरिकहरूको धैर्यको सीमा पार गराएको छ ।