जनकपुरधाम, २७ फागुन । ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आउने अवसरमा स्थानीय प्रशासनले तीन दिनका लागि माँस मदिरा सेवन तथा खरिद विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध फागुन २८ गते राति १२ बजेदेखि चैत १ गते मध्याह्नसम्म लागू हुनेछ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले एक सूचना जारी गर्दै परिक्रमा र सो क्षेत्रको आसपासमा माँस र मदिराको सेवन र विक्रीमा कडाई गर्न निर्देशन दिएका छन् । मिथिला बिहारीजी र किशोरीजीको डोलासहित मिथिला मध्यमा परिक्रमा २९ गते जनकपुरधाम प्रवेश गर्नेछ र त्यसपछि विहानपल्ट नगर परिक्रमा गर्ने परम्परा छ ।

प्रमुख जिल्ला अधिकारी कडरीयाले नगरबासीलाई सो प्रतिबन्धको पूर्ण पालन गर्ने आग्रह गर्दै भने, ‘मिथिला मध्यमा परिक्रमा गर्ने र त्यसको आसपासको क्षेत्र भित्र कुनै पनि प्रकारको माँस र मदिरा सेवन र विक्री वितरण गर्न निषेध गरिएको छ । हामी सबैलाई अपिल गर्दछौं कि यस नियमको पालना गरौँ ।’

प्रशासनले होलीको दिन नशालु पदार्थको सेवन गरी हो–हल्ला गर्ने, बाटोमा हिँड्ने महिलाहरूसँग अभद्र व्यवहार गर्ने जस्ता कदाचार नगर्न पनि चेतावनी दिएको छ । होलीका अवसरमा सामाजिक मेलमिलाप र सद्भावना कायम राख्न सबैलाई ध्यान दिन अपिल गरिएको छ ।

जनकपुरधामको परिक्रमा र मिथिला क्षेत्रको सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै प्रशासनले यस्तो कदम उठाएको हो । यसले धार्मिक र सामाजिक सद्भावलाई प्रमोट गर्दै सुसंस्कृत वातावरणमा पर्व मनाउने लक्ष्य राखिएको छ ।