धनुषामा स्रोत नखुलेको साढे ९ लाख रुपैयाँसहित ४ जना पक्राउ

जनकपुरधाम, २७ फागुन । जनकपुरधाम उपमहानगरपालिका–२ स्थित कदमचोकबाट स्रोत नखुलेको रकम र विभिन्न आपत्तिजनक सामग्रीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका कोल्हवा टोल निवासी २४ वर्षीय सुरज मण्डल, उनका दाई २७ वर्षीय दिपक कुमार मण्डल, सर्लाहीको ब्रम्हपुरी टोल बस्ने १८ वर्षीय अरुण कुमार साह र जनकपुरधाम उपमहानगरपालिका–१२ कुरवारामपुर बस्ने ३३ वर्षीय गोविन्द कुमार खत्वे रहेका छन् ।
प्रहरीका अनुसार प्रहरीले चलाएको मोटरसाइकल चेकजाँच अभियानमा संदिग्ध मोटरसाइकल चालकको नाममा स्रोत नखुलेको ९ लाख ६८ हजार १२० रुपैयाँ फेला परेको हो । मोटरसाइकल चेकजाँचको क्रममा ८०७७ नम्बरको मोटरसाइकलबाट सो रकम जफत गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले उक्त रकम जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित एक डेरामा राखेर कारोबार गर्दै आएको स्वीकार गरेका छन् । प्रहरीले घटनास्थलबाट १५० बैंक भौचर, ५ वटा मोबाइल फोन, ३ वटा पासपोर्ट र अन्य आपत्तिजनक सामग्री पनि जफत गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार यस घटनामा संलग्नहरुलाई थप सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।प्रहरीले यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ ।
सम्पूर्ण घटनाको विस्तृत अनुसन्धान भइरहेको र यस विषयमा आवश्यक कानूनी प्रक्रिया अपनाइने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


