पाकिस्तानमा बलुच लिबरेसन आर्मीद्वारा रेल अपहरण, ४ सय यात्रु सवार

एजेन्सी, २७ फागुन । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा बलुच लिबरेसन आर्मीद्वारा जाफर एक्सप्रेस रेल अपहरण गरिएको छ ।
क्वेटाबाट पेसावर जाँदै गरेको उक्त रेलमा ४ सयभन्दा बढी यात्रु सवार थिए । बीबीसीका अनुसार बीएलएले रेलमा गोलाबारी गरी रेल रोकिएको पुष्टि गरिएको छ । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गर्दै जानकारी दिएका छन् ।
उक्त घटनामा रेलचालक घाइते भएको र आक्रमणका कारण रेलको चालक दलसँग कुनै पनि सम्पर्क स्थापना हुन नसकेको क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले बताएका छन् । उनले भने, ‘यस क्षेत्रमा नेटवर्क समस्या भएकाले हामी कुनै पनि दलका सदस्यसँग सम्पर्क गर्न असमर्थ छौं ।’
रेलमा सवार यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न तत्कालै अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको पनि जानकारी प्राप्त भएको छ । क्वेटास्थित रेलवे नियन्त्रण केन्द्रका वरिष्ठ अधिकारी मुहम्मद शरीफले हतियारधारी व्यक्तिहरूले आक्रमण गरेपछि रेल रोकिएको जानकारी दिए ।
आक्रमण पछि बलुच लिबरेसन आर्मीले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी दिएको छ । यस घटनाले पाकिस्तानको सुरक्षा र यातायात व्यवस्थामा थप चुनौतीहरू निम्त्याएको छ ।
यात्रीहरूको सुरक्षा र स्थिति अझै स्पष्ट नभएको भन्दै स्थानीय प्रशासन र सुरक्षा निकायहरूले तत्कालै घटनाको अनुसन्धान र राहत कार्य सुरु गरेका छन् ।