मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असई यादवको मृत्यु

जनकपुरधाम, २७ फागुन । मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । यादवको मृत्यु आइतबार राति ११ बजे भएको हो ।
अचानक पेट र छाती दुखेपछि यादवलाई स्थानीय अस्पतालमा पुर्याइएको थियो । तर, स्थिति गम्भीर देखिएपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । त्यहाँ उपचारको क्रममा राति १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिंदै भने, ‘राति पेट र छातीमा अचानक असहजता महसुस भएपछि उनलाई प्राथमिक उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । त्यहाँ राती १२ बजे उनको मृत्यु भएको हो ।’
सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा थियो । उनको आकस्मिक निधनले प्रहरी संगठनमा शोक छाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


