निजामती कर्मचारीहरूको उमेर हद ६० वर्ष पुर्याउने तयारी

काठमाडौँ, २१ फागुन । संघीय निजामती सेवामा कार्यरत कर्मचारीहरूको उमेर हद बढाउने विषयमा संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सकारात्मक रूपमा अघि बढेको छ ।
२०८० को संघीय निजामती सेवा विधेयकका सन्दर्भमा भइरहेको छलफलमा अब उमेर हद ६० वर्ष पुर्याउने विषयमा गम्भीर बहस जारी छ ।
समितिका सदस्य र सांसदहरूले विधेयकमाथि राखेका संशोधन प्रस्तावहरूको अध्ययन गरिसकेपछि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनेको उपसमितिमा उमेर हद बढाउने बारे छलफल भइरहेको छ ।
उपसमितिका सदस्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले यस विषयमा सकारात्मक छलफल भइरहेको बताएका छन् । उनले भने, ‘निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा छलफल भइरहेको छ र यो सकारात्मक रूपमा अघि बढिरहेको छ ।’
सांसद तामाङले भनाइ राख्दै भने, ‘अहिलेको निजामती सेवा ऐन २०४८ मा बनाइएको थियो । त्यस समय नेपालीहरूको औसत आयु ६२ वर्ष थियो । त्यसै कारण उमेर हद ५८ वर्ष राखिएको थियो । अहिले पछिल्लो जनगणनाअनुसार नेपालीहरूको औसत आयु ७२ वर्ष पुगेको छ । यसलाई ध्यानमा राख्दै उमेर हद ६० वर्ष राख्नका लागि कानुनी प्रक्रिया अघि बढाइएको हो ।’
वर्तमान निजामती सेवा ऐनले ५८ वर्ष उमेर हदमा कर्मचारलाई अवकाश दिने व्यवस्था गरेको थियो । तर, उमेर हद बढाउँदा अनुभवी कर्मचारीहरूलाई बेलैमा अवकाश दिइन्छ र नयाँ कर्मचारीहरूसँग ज्ञानको आदानप्रदान गर्न सजिलो हुन्छ भन्ने विचार पनि संसद्मा उठेको छ । यस विषयमा सांसदहरू बीच अनौपचारिक सहमति पनि जुटिसकेको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


