क्रिप्टो कारोबारको लुटपाटमा संलग्न तीन प्रहरीसहित ६ जना पक्राउ, सशस्त्र हवल्दारको खातामा ७ लाख रुपैयाँ फेला

काठमाडौं, २१ फागुन । अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना अहिले हिरासतमा छन् । यी सबैलाई क्रिप्टो कारोबारी रोशन गुरुङबाट १४ लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका सशस्त्र हवल्दार केसीको खातामा लुटिएको रकममध्ये ७ लाख रुपैयाँ फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । केसीको बैंक खातामा उक्त रकम रोक्का गरेर अनुसन्धान सुरु गरिएको छ । एक अनुसन्धान अधिकारीले भने, ‘हवल्दार केसीको खातामा लुटिएको रकमको ७ लाख रुपैयाँ भेटिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार लुटपाटको घटना क्रिप्टो कारोबारी गुरुङसँग भएको थियो । उनको १४ लाख रुपैयाँ लुटिएको थियो । यो रकम प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै लुटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा अन्य पक्राउ परेका व्यक्तिहरूले सशस्त्र हवल्दार केसीको नाम लिएका छन् । उनले ७ लाख रुपैयाँ बुझेको बयान दिएका छन् ।
यस घटनामा संलग्न अन्य चार व्यक्तिहरूमा मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भई हाल विराटनगर–३ बस्ने २० वर्षीय मनिसकुमार राय रहेका छन् । प्रहरीले कपिल बस्नेत र संजोक तामाङबाट १२ लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट ६ जनाविरुद्ध पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको एसपी अपिलराज बोहोराले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका अनुसार क्रिप्टो कारोबारी रोशन गुरुङले अबधि लामो समयको अवधिमा १ अर्ब ८७ करोड सात लाख १३ हजार १६२ रुपैयाँको कारोबार गरेको खुलेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


