अवैध पोल्ट्रीजन्य पदार्थको ओसारपसार नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमाबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थको ओसारपसार रोक्न प्रदेशका सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिएका छन् ।
उनले अवैध आयातका रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, मासु, क्रेट, कार्टुन र भ्याक्सिनको कारोबारमा कडाइ गर्दै प्रहरी प्रमुखहरूलाई तीव्र निगरानी राख्न आदेश दिएका हुन् ।
मुख्यमन्त्री सिंहका अनुसार भारतबाट आउने पोल्ट्रीजन्य पदार्थको अवैध आयातले नेपाली पोल्ट्री व्यवसायलाई संकटमा पारिरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले यस बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको थियो । संघका अनुसार भारतका विभिन्न प्रान्तहरूमा फैलिएको बर्ड फ्लुको जोखिमलाई ध्यानमा राख्दै पोल्ट्रीजन्य पदार्थको अवैध व्यापार रोक्न आवश्यक पहल गर्नुपर्ने बताए ।
मुख्यमन्त्री सिंहले भने, ‘अवैध पोल्ट्रीजन्य पदार्थको ओसारपसार रोक्न प्रदेशका सुरक्षा अधिकारीलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएको छु ।’ उनले सशस्त्र प्रहरी र प्रहरी प्रमुखहरूलाई सीमाक्षेत्रमा कडा निगरानी राखेर अवैध व्यापार नियन्त्रण गर्न र यो समस्याको समाधानका लागि सशक्त अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
साथै, उनले पोल्ट्रीजन्य पदार्थको अवैध आयातको बिक्रीवितरणमा साना व्यापारीहरूको संलग्नता रहेको भन्दै यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर व्यापारी र उपभोक्तालाई यसको दुष्प्रभावबाट सचेत गराउनुपर्ने बताए । ‘अवैध रूपमा भित्रिएका पोल्ट्रीजन्य पदार्थको बिक्री रोक्न उपभोक्ता र व्यापारीलाई सचेत गराउन आवश्यक छ,’ उनले थपे ।
नेपालले पोल्ट्री उद्योगमा ठूलो लगानी गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार पोल्ट्री व्यवसायमा एक खर्ब ६० अर्ब रुपैयाँको लगानी रहेको छ । यसले पाँच लाखभन्दा बढी मानिसलाई रोजगारी दिने गर्दछ । यस कारण पोल्ट्री व्यवसायीहरूले सरकारसँग अवैध आयात रोक्नका लागि ठोस नीति र कदमहरूको माग गरेका छन् ।
मुख्यमन्त्री सिंहले मधेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख कालीदास धौवजीलाई अवैध पोल्ट्रीजन्य पदार्थको ओसारपसार नियन्त्रण गर्न थप सक्रियता अपनाउन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी प्रमुखले सीमाक्षेत्रमा अवैध व्यापार रोक्न थप कडा कदम चालिने प्रतिबद्धता जनाए । यस्तै, आचार्यले अवैध पोल्ट्रीजन्य पदार्थको नियन्त्रणका लागि पहिलो चरणमा सचेतनामूलक प्रचारप्रसार र दोस्रो चरणमा कानुनी कारबाही गर्दै अवैध सामग्रीलाई नष्ट गर्ने योजना रहेको जानकारी दिए ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले मुख्यमन्त्री सिंहलाई धन्यवाद दिँदै, ‘मुख्यमन्त्रीज्यूले हाम्रो समस्या गम्भीर रूपमा लिनुभएको छ, अब हामीलाई विश्वास छ कि अवैध आयात रोक्ने ठोस कदम चालिने छ,’ भने ।