गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणमा तीव्र कदम चाल्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण प्रक्रियालाई तिव्रतामा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
उनले उक्त क्षेत्रमा गम्भीर कानुनी र व्यवस्थापकीय समस्याहरू रहेका कारण प्रदेश सरकारले उक्त क्षेत्रको उचित व्यवस्थापनका लागि सबै आवश्यक कदम चाल्ने दाबी गरेका हुन् ।
बुधबार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको प्रेस विज्ञप्तिमा गौर राइस मिल क्षेत्रको भूभाग गुम्न नदिन प्रदेश सरकार गम्भीर र दृढ रहेको उल्लेख गरिएको छ ।
साथै, उनले कानुनी जटिलता, स्रोत व्यवस्थापनको अभाव र संरक्षण प्रयासहरूको कमीका कारण गौर राइस मिल क्षेत्र संकटमा परेको जनाएका छन् । यस समस्याको समाधान गर्न प्रदेश सरकारले शीघ्र पहल थाल्ने छ ।
विज्ञप्तिमा मुख्यमन्त्री सिंहले भने, ‘गौर राइस मिल क्षेत्रको भूभाग गौरवासीकै महत्त्वपूर्ण धरोहर हो । यसलाई बचाउन र व्यवस्थापन गर्न आवश्यक पहल तुरुन्तै थाल्ने छौं ।’ उनले कानुनी प्रक्रिया र मुआब्जा व्यवस्थापनका लागि आवश्यक सबै कानुनी प्रावधानहरूको विस्तृत अध्ययन गर्न मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले भने, ‘गौर राइस मिलको जग्गा गौरवासीकै हुनुपर्छ । र, यसका लागि जुनसुकै उपाय अबलम्बन गरिने छ ।’ उनले यहि कारणले गर्दा गौर नगरपालिका र अन्य सम्बन्धित निकायलाई हतारमा कुनै पनि निर्णय कार्यान्वयन नगर्न पनि आग्रह गरेका छन् ।
प्रदेश सरकारले यस मुद्दामा सबै पक्षलाई समेटेर उचित निर्णयमा पुग्ने र गौर राइस मिलको इतिहास र गौरवलाई संरक्षण गर्ने लक्ष्य लिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


