जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले आफूलाई धम्काउने पत्रकारको नाम दुई/तीन दिनभित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । उनले ती पत्रकारले आफूलाई बार्गेनिङ्गको क्रममा धम्की दिएको दाबी गरेका छन् ।

मन्त्री यादवका अनुसार ती पत्रकारको घर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ मा छ । र, उनी प्रायः बार्गेनिङ्गका काममा संलग्न हुँदै आएका छन् ।

यादवले ती पत्रकारसँग भएको आफ्नो कुराकानीका बारेमा थप जानकारी दिँदै भने, ‘उनीसँगको कुरा रेकर्ड गरिएको छ र ती पत्रकारले पिसीसी ढलान सडकलाई पिच सडकमा परिवर्तन गर्नका लागि बार्गेनिङ्ग गर्दै थिए ।’

मन्त्री यादवका अनुसार ती पत्रकारले पिच सडक निर्माणका लागि दबाब दिएका थिए । उनले थपे, ‘मैले उनीसँगको कुराकानी रेकर्ड गरेको छु, त्यसैले हावादारी कुरा गर्ने छैन । दुई/तीन दिनमा ती पत्रकारको नाम सार्वजनिक गर्नेछु ।’