जनकपुरधाम, २१ फागुन । नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेश प्रदेशले भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

मन्त्री यादवद्वारा मंगलबार जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा पत्रकारिता पेशासम्बन्धी व्यक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको हो ।

महासंघले मन्त्री यादवको उक्त अभिव्यक्तिलाई अवाञ्छित र अस्वीकार्य ठहर गर्दै सार्वजनिक रुपमा स्पष्टिकरणको माग गरेको छ ।

उक्त उद्घाटन समारोहमा मन्त्री यादवले केही पत्रकारहरुले फोनमार्फत विज्ञापन र योजना माग्ने नदिए धम्क्याउने र विरोधमा समाचार प्रकाशन गर्ने जस्ता गतिविधि गरेको उल्लेख गरेका थिए । यसप्रति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले एक् विज्ञप्ति प्रकाशित गर्दै कडा प्रतिक्रिया जनाएका छन् ।

महासंघको भनाइ अनुसार यदि कुनै पत्रकारले पत्रकारिता पेशाको दुरुपयोग गर्दै आचारसंहिताविपरीत कार्य गरेको प्रमाण प्रस्तुत गर्न सकिन्छ भने मात्र त्यस्ता व्यक्तिको नाम सार्वजनिक गर्न सकिन्छ ।

महासंघले पत्रकारिता पेशाको इज्जत र निष्ठा कायम राख्न प्रतिबद्धता जनाउँदै भनेको छ, ‘यदि कुनै पत्रकारले मन्त्री यादवसँग यस्ता गतिविधि गरेको प्रमाण छ भने महासंघले त्यसको सार्वजनिक खुलासा गर्न अनुरोध गर्दछ ।’

महासंघले भन्यो, ‘तर, आधार प्रमाणबिना सम्पूर्ण पत्रकारहरुलाई शंकाको घेरामा पार्ने, पेशागत निष्ठामा प्रश्न उठाउने र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने अभिव्यक्तिलाई स्वीकार्य छैन ।’

पत्रकार महासंघले मन्त्री यादवलाई आफ्नो अभिव्यक्तिलाई सच्याउने र भविष्यमा यस्ता गैर–जिम्मेवार टिप्पणी नगर्न आग्रह गरेको छ ।

महासंघले पत्रकारिता क्षेत्रको सम्मान र यसको मर्यादा कायम राख्न सरकार र अन्य सरोकारवालाहरूसँगको सहकार्यलाई महत्वपूर्ण मान्दै पत्रकारिता पेशामा विश्वास राख्ने सबैलाई एकजुट भएर काम गर्न आह्वान गरेको छ ।