मन्त्री यादवले पत्रकारिता जगतको बदनामी गरे : प्रेस सेन्टर नेपाल

जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरुको आलोचना गर्दै उनीहरुलाई ’विज्ञापन माग्ने’, ’नदिएको खण्डमा धम्काउने’ र ’विरोधमा समाचार लेख्ने’ जस्ता आरोप लगाएका छन् ।
मन्त्री यादवले यी आरोप लगाउँदै सम्पूर्ण पत्रकार र पत्रकारिता जगतको बदनामी गरेको भन्दै यथार्थमा के भएको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।
मन्त्री यादवले मंगलबार मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पत्रकारमाथि गम्भीर आरोप लगाएका थिए । उनका अनुसार केही पत्रकारले ’विज्ञापन र योजनाको माग’ गरेका छन् । र, यदि ती माग पुरा नगरेमा ’धम्की दिने’ र ’विरोधमा समाचार लेख्ने’ जस्ता व्यवहार गर्ने गरेका छन् ।
मन्त्री यादवको यो अभिव्यक्तिले पत्रकार जगतमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ । यसैबिच, प्रेस सेन्टर नेपाल धनुषा शाखाले मन्त्री यादवको अभिव्यक्तिलाई गैरजिम्मेवार र तथ्यहिन ठहर गर्दै त्यसमा नामसहितको प्रमाण सार्वजनिक गर्न आग्रह गरेको छ ।
सेन्टरका अध्यक्ष दिपक मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी मन्त्रीज्यूलाई तथ्यानुसार नाम सार्वजनिक गर्न माग गर्दछौं । यदि त्यस्तो तथ्य प्रस्तुत गर्न सक्नुहुन्न भने बिना प्रमाणको आरोप पत्रकार र पत्रकारिता जगतको बदनामी गर्नु अत्यन्त खेदजनक छ ।’
प्रेस सेन्टर नेपालले यसै विज्ञप्तिमार्फत मन्त्री यादवलाई गम्भीर ध्यानाकर्षण गराउँदै आरोपको तथ्यतत्त्व पेश गर्न आग्रह गरेको छ । सेन्टरका अध्यक्ष मिश्रका अनुसार नाम नखुलाइएका आरोप पत्रकारिता जगतको प्रतिष्ठामा ठूलो धक्का पुग्ने र यसले समाजमा गलत सन्देश पुर्याउने खतरा पैदा गर्नेछ ।
उनले भने, ‘यदि यस्ता आरोप प्रमाण बिना लगाइन्छ भने यसले सम्पूर्ण पत्रकारिता जगतको इमेजलाई धुमिल बनाउँछ ।’
मन्त्री यादवको अभिव्यक्तिको सत्यतासहितको प्रमाण प्रस्तुत नगरेसम्म यो विवाद गहिरिन सक्ने आशंका गरिएको छ ।