मधेश प्रदेशका मन्त्री यादवद्वारा पत्रकारमाथि आरोप, धनुषाका पत्रकारमा आक्रोश

जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरुको आलोचना गर्दै आफू डिप्रेशनमा जान लागेको बताएका छन् । मन्त्री यादवले पत्रकारहरुमा योजना माग्ने, विज्ञापनको लागि दबाव दिने र समाचार लेख्न नदिएको आरोप लगाए । उनका यी आरोपले धनुषाका पत्रकारहरुमा ठूलो आक्रोश उत्पन्न गरेको छ ।
मन्त्री यादव मंगलबार मैथिली विकास कोषमा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै पत्रकारहरुको व्यवहारलाई आलोचना गरे । उनले भने, ‘पत्रकारहरुले योजनाहरु मागेका छन् र विज्ञापनको लागि दबाव दिएका छन् । यदि यो सबै नदिइए समाचार लेख्ने धम्की दिने गरेका छन् ।’ यद्यपि, उनले कुनै पत्रकारको नाम भने किटान गरेनन् ।
मन्त्री यादवका यी आरोपपछि धनुषाका पत्रकारहरु एकदमै आक्रोशित भएका छन् । यहाँका पत्रकारहरुले नाम किटान गर्न मन्त्री यादवलाई दवाव दिएका छन् । उनीहरुका अनुसार यो आरोपले पत्रकारिता पेशाको प्रतिष्ठामा आँच पुर्याएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको मौनताले पत्रकारको एकतामा कमजोरी आएको विश्लेषण गरिएको छ । महासंघले यस विषयमा कुनै प्रतिक्रिया नदिएका कारण सम्पूर्ण पत्रकारको इमेज प्रभावित भएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष अनिल मिश्रले तीव्र आलोचना गरेका छन् । उनले भने, ‘पत्रकार महासंघले मन्त्री यादवसँग जवाफ माग्नुपर्ने हो । तर, यदि यस्तो मुद्दामा महासंघ मौन रहने हो भने यसले नेतृत्वको कमजोरी प्रकट गर्छ ।’
पूर्वअध्यक्ष मिश्रले थपे, ‘मन्त्री यादवको भिडियो सामाजिक सञ्जालमा राख्ने र जवाफ माग्न नसक्नुले महासंघको नेतृत्व असक्षम भएको देखाउँछ ।’ उनले नेपाल पत्रकार महासंघका अध्यक्ष पुरन गुप्ताले मन्त्रीसंग संवाद गर्दा मध्यस्थको भूमिका निभाएकोले मन्त्री यादवको अभिव्यक्ति उनलाई लक्षित गर्ने तरिका जस्तो देखिएको बताए ।
धनुषा शाखाका एक सदस्य घनश्याम मिश्रले पनि महासंघको नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष बनेपछि फोन नउठाउने चलन छ मधेशमा । मन्त्रीले पत्रकारहरुलाई आरोप लगाए । तर, महासंघले कुनै विज्ञप्ति जारी गरेन ।’ उनले थपे, ‘अब म पत्रकारिताबाट सन्यास लिन्छु । तर, आरोप प्रमाणित गरेर छोड्छु ।’
त्यसैगरी, प्रेस मञ्च नेपाल मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले मन्त्री यादवको अभिव्यक्तिलाई गैरजिम्मेवार र अनावश्यक आरोप मानेका छन् । उनले भने, ‘मन्त्री यादवको यस्तो अभिव्यक्ति भ्रष्टाचार लुकाउनका लागि आएको हो । पत्रकारहरुलाई बदनाम गर्ने र आफ्ना गुनाह लुकाउने प्रयास हो ।’
यस घटनाले मधेश प्रदेशमा पत्रकारिताको अवस्था र पत्रकार महासंघको नेतृत्वलाई नयाँ बहसमा धकेलिदिएको छ । मन्त्री यादवको अभिव्यक्ति र पत्रकार महासंघको मौनताले पत्रकारिताको गरिमा र पत्रकारहरुको एकता कमजोर बनाएको देखिएको छ ।