जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानुन विपरीत निर्णय गर्दै मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् । यो निर्णय मंगलबार राति मध्यरातमा गरिएको हो ।

मधेश प्रदेशको सरकारी कानूनी व्यवस्थाका अनुसार उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नका लागि न्याय परिषद्को गठन अनिवार्य रहेको बताइएको छ । तर, मुख्यमन्त्री सिंहले यस कानूनी प्रक्रियालाई नपुगी बर्खास्तीको निर्णय लिएका छन् ।

मधेश प्रदेशका तत्कालीन मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले यस निर्णयको विरोध गर्दै भने, ‘उपकुलपति र रजिष्ट्रारलाई हटाउन न्याय परिषद्को गठन अनिवार्य छ । यदि उनका विरुद्ध माग अनुसार जवाफ नआएपछि मात्र कानूनी कारवाही गर्न सकिन्छ । तर, एक्कासि मुख्यमन्त्रीले यस प्रकारको निर्णय लिन सक्दैनन् ।’

विगत केही समयदेखि कृषि विश्वविद्यालयमाथि राजनीतिक दबाब र विवाद चलिरहेको छ । जनमत पार्टी र जसपा नेपाल बीचमा शिलान्यासको विवादका कारण कुटाकुट भएको थियो । जसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते भएका थिए । यस घटनापछि मधेश प्रदेश सभाले छानबीन समिति गठन गरेको थियो । त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

कृषि विश्वविद्यालयको विवादले नयाँ मोड लिएको छ । जनमत नेतृत्वको सरकारले कृषि विश्वविद्यालयका लागि १० लाखको बजेट विनियोजन गरे पनि आर्थिक कारोबार भने विगत सात महिनादेखि बन्द रहेको छ । यस निर्णयले अहिले छात्र–छात्रा र विश्वविद्यालयका शैक्षिक गतिविधिहरूमा गम्भीर असर पार्ने सम्भावना देखिएको छ ।