पर्सा, २० फागुन । पूर्व संविधान सभा सदस्य एवम् आम जनता पार्टीका केन्द्रीय सचिव इस्लाम हवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पर्सा जिल्लामा आयोजित एक विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थितिमा हवारीले पार्टी सदस्यता ग्रहण गरेका हुन् ।

कार्यक्रममा हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार, पर्सा जिल्ला अध्यक्ष राजेश साह लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए । ार्टीका विभिन्न नेताहरूले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीको वैचारिक मार्गदर्शन र उद्देश्यबारे जानकारी दिए ।

पार्टी प्रवेशपछि हवारीले भने, ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल मधेश र देशको अधिकार र पहिचानको लागि लड्ने एकमात्र पार्टी हो ।’ उनले पार्टीका सिद्धान्त र उद्देश्यलाई समर्थन गर्दै भने, ‘राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ सशक्त बनाउन म आफ्नो पूर्ण योगदान दिनेछु र यो देशलाई बहुलराष्ट्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पार्टी प्रवेशसँगै पर्सा जिल्लामा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन थप बलियो बताइएको छ । पार्टीका नेताहरूले यसलाई पार्टीको विकसीत नेतृत्व र सामाजिक न्यायका लागि ठूलो कदमको रूपमा स्वागत गरेका छन् ।