जनकपुरधाम, २० फागुन । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । यो पुरस्कार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा डिएफओ सिंहलाई प्रदान गरिएको हो ।

वन प्राविधिक संघका ५०औं बार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा वन संरक्षणका क्षेत्रमा डिएफओ सिंहको अतुलनीय योगदानको मूल्याङ्कन गर्दै उनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको हो । पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।

डिएफओ विनोद सिंहलाई वन अतिक्रमण नियन्त्रण र भूमाफियाहरूसँग जुधेर अरबौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्याउने कार्यका लागि उच्च मुल्यांकन गरिएको छ । साथै, उनले वन व्यवस्थापन र सुशासन कायम गर्नमा पनि महत्त्वपूर्ण भूमिका निभाएका छन् । सिंहको योगदानमूलक कार्यको कारण मधेश सरकारसँगै संघीय वन वातावरण मन्त्रालयले पनि उनको कामलाई प्रशंसा गरेको छ ।

समारोहमा संघीय वन वातावरण मन्त्रालयका सचिव दिपक कुमार खरालले सो पुरस्कार प्रदान गरेका थिए । साथै, कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र वन तथा वातावरण मन्त्री ऐन बहादुर सिंह ठकुरी लगायतका प्रमुख व्यक्तिहरूले पनि डिएफओ सिंहको कार्यको प्रशंसा गरे ।