गोवराही टोल सशस्त्रको चेकजाँच र आतंकका कारण तरंगीत बनेको आरोप

जनकपुरधाम, २० फागुन । धनुषाको विदेह नगरपालिकास्थित दुहवी गोवराही टोल हाल सशस्त्र प्रहरीको चेकजाँच र आतंकका कारण तरंगीत बनेको आरोप लगाइएको छ ।
सशस्त्र प्रहरीले सीमामा सुरक्षा गर्नुको सट्टा दैनिक रूपमा स्थानियबासिन्दालाई चेकजाँचको नाममा त्रसित पारिरहेको र यस कारण स्थानीय जनता बीच ठूलो असन्तोष र विरोध फैलिएको आरोप लगाइएको हो ।
दुहवी सीमाबाट डेढ किलोमिटर पछाडि रहेको रेल्वे स्टेशन क्षेत्रका बजारमा सशस्त्र प्रहरीले हतियारसहित चेकजाँच गर्ने क्रममा स्थानीयवासीले यसलाई आतंकको रूपमा व्याख्या गरेका छन् । स्थानियबासिन्दा अनुसार जनपद प्रहरीको अधिकारमा रहेको चेकजाँचको कार्य सशस्त्र प्रहरीले बिना अनुमति गर्दै सीमामा सुरक्षा दिने कार्य नगरी आफ्नो स्वार्थका लागि चेकजाँच गर्दै आएका छन् । स्थानीयबासिन्दाले यसलाई ’कमिसनको खेल’ र ’आतंक’ को रूपमा उल्लेख गरेका छन् ।
सशस्त्र प्रहरीले स्थानीयजनताको विरोधपछि नेपाल रेल्वेलाई रोकेर चेतावनी दिएको थियो । गोवराही टोलका एक स्थानिय सन्तोष यादवका अनुसार सीमा पारबाट विहेका सामान ल्याउने बेला भारतीय प्रहरीले रोक नगरे पनि नेपालमा सशस्त्र प्रहरी समान खोस्ने र जफत गर्ने जस्तो क्रियाकलाप गर्दै आएको बताएका छन् । ‘सशस्त्र प्रहरी हाम्रो गाउँमा आएर आतंक सृजना गरिरहेका छन्,’ यादवले भने ।
स्थानीय व्यापारीहरूले पनि सरकारको दर्ता भएका पसलबाट समान बेच्न दिइएको छैन भने नेपालबाट ल्याइएको सामानको चेकजाँच गर्दै बिना कारणले समान खोस्ने प्रयास गरिएको बताएका छन् । दुहवी गोवराही टोलका एक व्यापारीका अनुसार, ‘हामीले नेपाल सरकारबाट अनुमति प्राप्त पसलमा समान बिक्री गर्नका लागि पनि समस्या भएको छ । तर, सशस्त्र प्रहरीले आएर समान खोस्ने र चेकजाँच गर्ने गरेका छन् ।’
स्थानीयवासीहरू आफ्नो सीमा र भूमि बचाउन दृढ रहेको बताएका छन् । ‘यो बोर्डर हाम्रो बाउबाजेले बचाएको हो र हामीले अहिले रक्षा गर्दै आएका छौं । यो बोर्डर प्रहरीले सुरक्षाको नाममा बचाएको होइन,’ एक स्थानीय बासिन्दाले भने । उनका अनुसार स्थानीयका लागि जनपद प्रहरी पर्याप्त छन् र सशस्त्र प्रहरीले सीमामा मात्र सुरक्षा दिनुपर्नेछ ।
वहाँका वडाध्यक्ष र विदेह नगरपालिकाका मेयर बेचन दासले भने सशस्त्र प्रहरीको यस्ता क्रियाकलापका विरुद्ध नगरपालिकासँग बारम्बार वार्ता गरिएकै भएता पनि कुनै समाधान निस्कन सकेको छैन । ‘हाम्रो एउटै माग छ गाउँको सुरक्षा जनपद प्रहरीले गर्नु पर्छ । सशस्त्र प्रहरीले आतंक सृजना गर्नुको कुनै कारण छैन ।’
सशस्त्र प्रहरीले भने यो सब आरोप असत्य रहेको र उनीहरूको कार्यक्षेत्र बाहेकको गतिविधिहरू नगरेको दावी गरेको छ । दुहवी गोवराही टोलका इन्चार्ज सुरज रिजालले भने, ‘सशस्त्र प्रहरी कुनै गैरकानुनी गतिविधिमा संलग्न छैन र हामीले भारतको पैठारी नियन्त्रण गर्न मात्र काम गर्दैछौं ।’