महोत्तरी, २० फागुन । मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू आज महोत्तरी गाउँपालिकाको मडई पुगेका छन् ।

सोमबार जलेश्वरमा पाँचौँ दिनको विश्रामपछि डोलासहितका यात्रीहरू मिथिलाविहारी श्रीराम र किशोरीजी सीताजीका प्रतिमा संग मडई आइपुगेका हुन् ।

त्यहाँ यात्रीको स्वागत महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डे र स्थानीयवासीहरुले गरेका थिए । यात्रा टोलीले आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेको थियो ।

महोत्तरी जिल्लामा यो यात्राको तेस्रो र परिक्रमा यात्रा अवधिको छैटौँ दिनको विश्रामस्थल हो । जलेश्वरबाट मडईको चार किलोमिटरको दूरी तय गर्दै आएका यी यात्रीलाई मडईमा पुगेर स्थानीयबासीहरूले स्वागत गरेका छन् । मडईमा डोलासहितका यात्रीहरूको आगमनसँगै यहाँको वातावरण उत्सवमय बनेको छ । परिक्रमा मेला हेर्नका लागि ठूलो भीड जम्मा भएको छ ।

परिक्रमा यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये ९ किलोमिटर पूरा भएको छ । यससँगै आगामी सातौँ र आठौँ दिनको यात्रा क्रमशः ध्रुवकुण्ड र कञ्चनवनमा विश्राम गरेर महोत्तरी जिल्लाको यात्रा पूर्ण हुनेछ ।

धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन औँसीका दिन सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनी जिल्लासम्मको यात्रा गरिन्छ । यस यात्रा मार्गमा १३३ किलोमिटरको वृतभित्रको यात्रा तय गरिन्छ । महोत्तरी जिल्लामा परिक्रमाका पाँच रात्रिबासको परम्परा छ भने धनुषा र मधुवनीमा क्रमशः ६ र ४ रातको विश्राम गरिन्छ ।

यात्राको ऐतिहासिक र सांस्कृतिक महत्त्वका कारण यस परिक्रमाले स्थानीय जनसमुदायलाई मात्र नभई अन्य सन्देशप्रेमीहरूलाई पनि आकर्षित गरिरहेको छ । महोत्तरीका स्थानीयबासीहरू यस परिक्रमा यात्रालाई सांस्कृतिक धरोहर र धार्मिक एकता प्रकट गर्ने अवसरको रूपमा देखिरहेका छन् ।