रौतहटमा एकैदिन १४ फरार प्रतिवादी पक्राउ

रौतहट, १९ फागुन । रौतहट जिल्ला प्रहरी कार्यालयले एकै दिनमा विभिन्न अपराधिक घटनामा संलग्न १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दाहरूमा अदालतबाट दोषी ठहर भएका र लामो समयदेखि फरार रहेका ती प्रतिवादीहरूलाई प्रहरीले विशेष सक्रियतासाथ पक्राउ गरेको हो ।
प्राप्त जानकारी अनुसार ती प्रतिवादीहरू अदालतबाट दोषी ठहर भई सजाय तोकिएपछि फरार भएका थिए । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरिएको हो । यी प्रतिवादीहरू लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए ।
पक्राउ परेका व्यक्तिहरूमध्ये लागुऔषध मुद्दामा दोषी ठहर भएका प्रेम राना, सागर अर्याल, बिन रानामगर (किरण रानामगर), सन्तमान लामा (सञ्चर रानामगर), वन मुद्दामा फरार भएका शम्भु चौधरी, किशोरी चौधरी (नन्दकिशोर चौधरी), बीरेन्द्र चौधरी, जुवा मुद्दामा दोषी ठहरिएका किशोरकुमार चौधरी, रामादिनेश साह, शिवराज अधिकारी क्षेत्री र कुटपिट मुद्दामा दोषी ठहर भएका शुभनारायण साह, कमल साह तेली लगायतका प्रतिवादीहरू समावेश छन् । यसबाहेक सम्बन्ध विच्छेद मुद्दामा संलग्न महमद असलम पनि पक्राउ परेका छन् ।
प्रहरी नायब उपरीक्षक रायले भने, ‘प्रहरीको सक्रियता र अभियानका कारण विभिन्न स्थानबाट ती सबै प्रतिवादीलाई पक्राउ गरिएको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।’
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा हालको आर्थिक वर्षमा ४०० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले स्पष्ट पारेको छ ।