रौतहट, १९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आएका एक जना सञ्चालकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार चन्द्रपुर–४ स्थित ’सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर’का सञ्चालक राजन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह र अनुगमन टोलीले अस्पतालको अनुगमन गर्दा उक्त अस्पतालको दर्ता नभएको भेटिएको थियो ।

मुख्यमन्त्री सिंहले अनुगमन टोलीसँगै उक्त अस्पतालको दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्देशन दिएका थिए । अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र जारी गरिएको थियो । तर, अस्पताल सञ्चालक राजन साहले सो पत्रको अवज्ञा गर्दै अस्पताल सञ्चालन गर्न जारी राखेका थिए । यस कारण सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार अवैध रूपमा अस्पताल सञ्चालन गर्नाले जनस्वास्थ्यको जोखिम बढाउन सक्छ । यसकारण प्रहरीले साहलाई पक्राउ गरेको हो । राईले भने, ‘अस्पताल सञ्चालन गर्न अनुमति नपाएपछि कानूनी कारवाही जारी राख्ने प्रक्रियामा रहेका छौं ।’

अनुगमनका क्रममा मुख्यमन्त्री सिंह र टोलीले चन्द्रनिगाहपुरका ११ वटा निजी अस्पतालहरूको अनुगमन गरेका थिए । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । केवल चन्द्रपुर अस्पताल प्रालिले मात्र वैध अनुमति लिएर अस्पताल सञ्चालन गर्दै आएको जनाइएको छ ।

अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरका अनुसार अनुगमनमा समावेश गरिएका अस्पतालहरू मध्ये अधिकांश अनियमित थिए ।

अनुगमन गर्दा चन्द्रपुरको ’हाइवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर’, ’सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर’, ’पब्लिक लाइफ केयर पोलिक्लिनिक’, ’एपोलो सिटी अस्पताल’, ’चपुरसिटी अस्पताल’, ’हिमालय पोलीक्लिनिक’, ’चन्द्रपुर सामुदायिक अस्पताल’, ’नमस्ते डेन्टल क्लिनिक’, ’चन्द्रपुर अर्थोपेडिक अस्पताल’, र ’चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र’ अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए ।